‘तीज’ लोकतान्त्रिक पर्व!!

तीज डायरी

    • याे बाटाे

    • १४ भाद्र २०७९, मंगलवार

काठमाडौं- ‘मदानीले मई पारिन्थ्यो नौनी घ्यू झिकिन्थ्यो, मडकिनाको माटो झिकी दैलो लिपिन्थ्यो…।’

हजुरआमाको पुस्ताले दुःख, पीडा, थिचोमिचो र खुसीलाई गीत संगीतका माध्यमबाट व्यक्त गर्ने पर्व थियो तीज। घर परिवार भित्र समेत वाक स्वतन्त्रता नहुँदा खासगरी महिलाहरुले आफ्नो भावना गीतका माध्यमबाट समाजमा सार्वजनिक गर्दथे। त्यसैले उतिबेला अभिव्यक्ति स्वतन्त्रताको पर्व थियो तीज।

तीजको रहर आयो बरिलै…
अनि मादल, खैजडी, चाँप, हारमोनियम, बाँसुरीका भाकामा गीत घन्किन्थे बोल हुन्थेः निर जाले हो…

माइतीघरबाट आफ्ना दाजु भाइ लिन आउँछन् भन्ने विश्वास र आशामा बस्दथे दिदी बहिनीहरु। परिवार र सम्बन्ध अनि जिम्मेवारीका हिसाबले उत्कृष्ट संगम हो तीज पर्व।

हरिदेवी कोइराला प्रतिनिधि रुपमा गाउँथिन् : माइती राजैले किनिदिएको…

चेतनाका हिसाबले यसरी भन्दा तीज लोकतान्त्रिक पर्व थियो। वर्षमा एकपटक महिलाहरु आ–आफ्ना कुरा गीतका माध्यमबाट माइतीसम्म पु¥याउँदथे। अनि समाजमा विद्रोहको ज्वाला पनि दन्काउँदथे।

सर्मिला गुरुङले एक जना महिलाको पीडालाई आफ्नो भाकामा गाईन:

‘हाम फालेर मरौं कि त्रिशुलीको बाढीमा, घरमा बसुँ सौता छ माइत सानिमा…।’

केही वर्षअघि एक दिन सुर्खेतको बाटो हुँदै नेपालगन्जदेखि दैलेख जाँदै थिएँ।

गुरुजीले भने– ‘सर श्रीमतिको फोन पटक–पटक आइराख्या छ, तीजमा आउनुहुन्छ कि नाइ भनेर सोधिरा छिन्’

मैले जवाफ दिएँ : जानुस न त!

गुरुजी : सर तीजको गीत डाउनलोड गर्‍याछु, सुनम है!!
म : हुन्छ नि। गुरुजीले मज्जाले घन्काए।

तिजको बेला घुम्दै आइयो मायालुको गाउँमा, हङकङगको साडीले नेपालको धुलो उडायो…
छमछम पाउजुको तालैमा,
मर्काउँछु कम्मर अहिलेको सालैमा।

यतिबेला हरितालिका तीजको रौनक गाउँ देखि सहर सम्म छ। तर पर्व मनाउने तरिका, भेषभुषा,गीत संगीत र खानपान बदलिएको छ।

गाउँघरमा युवा युवतीहरुको संख्या ओरालो लागेसँगै चाडपर्वको रौनक बजार वा सहर केन्द्रित हुँदै गइरहेका छन्।

है…कालो चस्मा आँखामा लाउँ कि नलाउँ म?
मायालुले आउ भन्छ बेलुका जाउँ कि नजाउँ म??

मायालुका यस्ता निमण्त्रणामा को–को जानुभयो को कति जानु भएन मनमै राख्नुस है!!

काठमाडौं देखि रुकुम जाने नाइट बसमा केही बर्ष पहिले घन्केको यो गीतले तिजको रौनक गाउँ पुगेको आभाष गराएको थियो।

भू–कम्पपछि केही अवधि गाउँ युवा–युवतीहरुले हराभरा भएको थियो। बिस्तारै सहर फर्कने क्रमले लय पकड्यो।

मानव खडेरी परेका नेपालका गाउँ बस्तीहरुमा कोरोना महामारीले मानिसको भेला त गरायो तर वृक्षारोपण गरेर विरुवा मौलाइ वृक्ष नभए जस्तै भयो, त्यो पनि टिकाउ भएन। मानिसहरु बिस्तारै सहर फर्किए।

पोहोर ताका होला काठमाडौदेखि दोलखातिर हुँइकिँदै थिएँ सार्वजनिक यातायातमा घन्कियोः

जेलैमा हो जेलैमा चरि जेलैमा…

हिन्दू धर्माबलम्बी महिलाहरुमा पनि समयसँगै पर्व मनाउने तरिका बदलिन् थाल्यो। अरु चाडपर्वहरुमा भइरहेको सांस्कृतिक आक्रमणको शिकार तीज पर्व पनि भएको छ। त्यसको ज्वलन्त उदाहरण खानपीन, भेषभुषा र गीत संगीत मानक भएकाछन्।

तानसेनको मिनी बस चढेर बुटवलबाट पाल्पा हुँदै गुल्मीको यात्रामा थिएँ। सहचालकले आफ्ना गुरुजीलाई भने – गुरु अप्ठ्यारा मोड सकिए तीज गीत घन्काउँ न हौ अब त।

गुरुजीले बायाँ हातले छामछुम पार्दै गीत घन्काएः

यो तीजमा ढल्केरै नाँचिन्छ बाबरी बरु कम्मर भाँचिए भाँचिन्छ…

यो पर्व केवल महिलाहरुको मात्रै होइन। पुरुष पनि सँगसँगै मनाउँछन। कर्ता महिला हुँदा पुरुषहरु सहायक भएर।

मलाई सम्झना आयो पाल्पा पढ्दा ‘राम हेर्न’ जाने भनेर ‘क्लास बङ्क’ हान्न लगाउने मित्र शंकर पाण्डे यतिबेला यूट्युवमा लण्डनमा सायद राम हेर्दै होलान्। गण्डक क्षेत्रमा नाचगानका कार्यक्रमलाई ‘राम हेर्ने’ भन्ने चलन थियो।

पुराना पुस्ताका तीज भाका, संगीत र शब्द सँगै भेषभुषाको मौलिकता बेग्लै थियो। त्यसले चाडपर्व आएको साँच्चिकै अनुभुति हुन्थ्यो। पछिल्ला पुस्तामा आएको सबैखाले बदलावले हाम्रो माटोका हाम्रा चाडपर्वलाई सात समुन्द्र पारीका भाकामा विष मिसाएको महशुस हुन्छ।

हामी समय अनुकूलतामा व्यक्तिगत रुपमा माइकल ज्याक्सन सुन्न सक्छौं। ब्रायन एडम्स, जष्टिन, कर्ट, एभ्रिल वा मोरक्कोन म्युजिक सहित संसार सुन्न सक्छौं। तर चाडपर्वको मौलिकतामा आँच आउनेगरी होइन। हुन त गीत संगीत, साहित्य र खेलकुदको कुनै दायरा हुँदैन भन्ने ठान्दछु म। तर मौलिकता जरुरी हुन्छ।

हामी पूर्वीय दर्शनमाथि विश्वास गर्ने, सनातन हिन्दू धर्म मान्ने समुदायका रहनसहन, भेषभुषा, चाडपर्व, भाषा, गीत, संगीत र संस्कृतिमाथिको आक्रमण पेचीलो विषय हो।

तीजको अघिल्लो रात ‘दर खाने’ परम्परा छ।

आफन्तजन, परिवार र छिमेकीहरु बसेर मन माँझेर गक्षअनुसार घरमा मिठा मिठा व्यञ्जन पकाएर आँफू खाँदै अरुलाई खुवाउँदै खाने पो दर हो।

सनातन हिन्दू धर्मावलम्वी महिलाहरू यो दिन माछामासु वाहेक सात्विक भोजन खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन्। यो धार्मिक विश्वास र आस्थाको कुरा हो। अब व्रत केका लागी भन्ने विषय नै बहसमा छ।

होटल र रेष्टुरेण्टमा त ‘मेन्यू’ सेलेक्ट गरेर ‘स्टाटस’ देखाउने प्रयोजन भयो। समय सँगै चाडपर्व मनाउने तरिका बदलियो।

रेष्टुरेण्ट जानु नराम्रो भन्न खोज्या होइन। रेष्टुरेण्ट कल्चरका विषयमा आवश्यक पर्छ भने अर्को कुनै अंकमा थप चर्चा गर्न सकिनेछ।

यसरी चाडपर्व र सांस्कृतिक पक्षमा भइरहेको अपत्यारिलो आक्रमणले हाम्रो राष्ट्रियता माथि नै कुनै दिन धावा नबोल्ला भन्न सकिन्न।

त्यसैले अघिल्लो पुस्ताबाट यो आफ्नो पुस्ता हुँदै आउने पुस्तालाई हाम्रा चाडपर्व, भेषभुषा, परम्परा र गीत संगीत हस्तान्तरण गर्ने जिम्मेवारीलाई पनि नभुलौं।

विटमार्दै गर्दा अधिकार, कर्तव्य र सम्बन्ध सँगै जिम्मेवार बन्न सिकाउने पर्व हरितालिका तीज पर्वको मंगलमय शुभकामना।

Posted on १४ भाद्र २०७९, मंगलवार

Last updated on August 30, 2022