शहर ब्यवस्थापन मुख्य चुनौती
    • याे बाटाे

    • २ जेष्ठ २०७९, सोमबार १८:५९

रहर, लक्ष्य, सपनासँगै आत्मविश्वाससहित दृढ संकल्प भए मानिसलाई गन्तब्यमा पुग्न कसैले छेक्न सक्दैन । त्यसका लागी चाहिने अर्को पक्ष भनेको कर्म हो । त्यस्तै राजनीतिक कर्मलाई जनसेवामा समर्पित गर्न खोजिरहेका उम्मेद्वारहरु ती मध्ये युवा अनुहारहरु जो चुनाव लड्दैछन् उनिहरुलाई दिशानिर्देश गर्ने जनताले नै हो ।

मानिस हरेक पटक सिक्दै अघि बढ्छ । मानिस सामाजिक प्राणी भएकाले मानिसको असल कर्म सभ्य समाज निर्माणका लागी महत्वपूर्ण रहन्छ । स्थानीय तह निर्वाचनको संघारमा छौं हामी । राजनीतिक दलका एजेण्डाहरुले कार्यकर्ता, मतदातालाई केवल कार्यकर्ता वा मतदाताका रुपमा मात्रै नहेरेर नागरिकका रुपमा उनिहरु प्रति राज्य जवाफदेही छ भन्ने महशुस गराउन सक्नुपर्छ ।

नेपालगञ्ज आँफैमा एउटा ऐतिहासिक शहर हो । यहाँको संस्कृति, जाती, भाषा, धर्म, रितिरिवाज, चाडपर्व, खानपान, पहिरन, भूगोल, वातावरण, भेषभुषालाई संयोजन गर्न सक्ने क्षमताको सुहाउँदो राजनीतिक नेतृत्व अहिलेको आबश्यकता हो । त्यसका लागी राजनीतिक दल चुन्ने मात्रै नभएर उपयुक्त पात्रको चयन चुनाव बाटै हुनुपर्छ, होईन भने पटकपटक पछुताउने नेतृत्व स्थापित हुन्छ ।

केही विगत, अलिकति वर्तमान र धेरै भविष्यका लागी राजनीतिक दलका ब्यवाहारिक एजेण्डा र ती एजेण्डालाई स्थापित गर्न सक्ने आँट भएकाहरुको चयन गर्न सक्नु नगरवासिका लागी चुनौती पनि छ ।

सन्दर्भवस विभिन्न राजनीतिक दलहरुले जारी गरेका चुनावी घोषणा पत्र कति ब्यवहारिक र कार्यान्वयन हुन सक्छन भन्ने पनि ख्याल गर्नै पर्ने विषय हुन् । मुल कुरा उपमहानगरको निश्चित बजेटको दायरा ख्याल गर्नै पर्दछ ।

यतिबेलाको माग भनेको शहर ब्यवस्थित गर्न सक्ने कुशल ब्यवस्थापक मेयरमा चुन्नेबेला हो । हामी केवल दलको प्रभावलाई मात्रै विष्लेषण नगरौं । ब्यक्ति चयन पनि मुख्य कुरा हो ।

छिमेकी देश भारतको तिरुवनंतपुरममा तिरुवनंतपुरम नगर निगमका लागी सन्२०२०मा २१ वर्षीय आर्या राजेंद्रन देश की सबैभन्दा युवा मेयर बनिन् । उनको आत्मविश्वस र कार्य कौशलता एउटा उदाहरणका रुपमा लिन सकिन्छ । यता २०७४ सालमा चुनाव जितेकाहरुले ५ बर्ष केके गरें भनेर ऐना हेर्नु पर्छ ।

नेपालगञ्जलाई आबश्यक छ त एक कुशल शहर ब्यवस्थापक मेयर उ राजनीतिक, मानसिक, शारिरिक र समाजिक अवस्थाका तमाम प्रतिकुलता र दबावलाई शहर फेस गर्नसक्ने होस, विबेक प्रयोग गरेर उम्मेद्वार चुनौं ।

निरन्तर चलिरहने विकासका गतिविधि मात्रै चुनावी एजेण्डा होइनन् । स्थानीय तहको सरकारको स्थानीय स्तरमा नागरिकको जीवन स्तरमा सुधार आउने कार्यक्रम अबको लक्ष्य हुनपर्छ ।

उपमहानगर तब मात्रै समृद्ध हुने हो जब वडावडा सम्पूर्ण रुपमा सबल हुनेछन् । त्यसका लागी पहिलो र अन्तिम काम भनेकै शहर ब्यवस्थित गर्नुपर्ने हो । बीचका काम विकास निर्माण, ग्रिन सिटी, स्मार्ट सिटी, शान्ति सुरक्षा, सामाजिक न्याय आदी ईत्यादी ।