काठमाडाैं, नेपाल

985......

सफरनामा : गेरुवस्त्र धारण गरेर लखनउ पुग्दा

  • ज्ञानमित्र

  • सन् २००४ को जनवरी महिना । ६/७ महिनापूर्व सन् २००३ को नासिकको महाकुम्भमा पत्रकारबाट जोगी बनेको ‘म’ छात्र जीवनमा धमाचौकडी मचाएको सहर लखनउ पुगेको थिएँ । चित्रकूट प्रवासमा रहँदा भारतका एकजना प्रख्यात योगी झाँसीमा रहेको थाहा पाएँ । मा झाँसी पुगेँ, दुर्भाग्य ! म उहाँ बसेको घर पुग्दा उहाँको हिँड्ने बेला भइसकेको थियो ।

    स्वामी बुधपुरीजी महाराजले भन्नु भयो– ‘अच्युत लखनउ आ जाओ, वहां मेरा सात दिनों का प्रोग्राम है ।’
    उहाँलाई ‘फलो’ गर्दै म ७ जनवरी २००४ को एक बिहान लखनउ पुगेँ ।

    कहाँ बस्ने ?

    त्यो सहर जहाँको ‘युनिभर्सिटी होस्टल’का कोठादेखि अनेकौं होटलका ‘रिसेप्सन’ मेरो अवैधानिक आगमनलाई सुरुचिपूर्ण स्वागत गर्न तत्पर रहन्थे । चिडियाखाना नजिक रहेको बाबु वीरेन्द्रकुमार जैन साहेबको विशाल हवेली जहाँ मेरा बाल्यकालका अनेकौं प्रवास भएका थिए । मेरा लागि उनका घरमा एउटै मात्र अप्ठेरो हुन्थ्यो, घरमा बेलुकी ५ बजेपछि केही खाने अनुमति हुन्नथियो । स्मृतिको शृंखला लामो थियो तर वर्तमानको वास्तविकता अति सानो ‘म सामान्य जोगी’ थिएँ ।

    २० वर्षको लामो अन्तरालपछि एक अपरिचित अजनबीका भाँती चारबाग रेलवे स्टेशनमा ओर्लेपछि उठेको स्मृतिको झन्झावातबाट उम्किन सहायक बन्यो लखनवी भाकाकै एउटा शेर–

    ‘वह दिन गए अजीज की हँसते थे रात दिन,
    मिलता है दिल को चैन अब आँसु बहाने में !’

    अन्यमनस्क भावले हिँड्दै स्टेशनबाट बाहिरिएँ । चारबाग स्टेशन छेउछाउमा होटल– गेस्ट हाउसको कुनै कमी थिएन । कमी मेरो पाकेटमा मात्रै थियो । सित्तैको कुनै छहारी पाउने आशामा हिँडिरहेको थिएँ म ।

    अचानक बोर्ड देखेँ ‘शीतल धर्मशाला’ । सोचे योभन्दा सस्तो अन्य कुनै ठाउँ पाइँदैन सहरमा ।
    धर्मशालाको कार्यालयमा मेरो स्वागत गर्न बसेको सुकेनासले रुखो स्वरमा सोध्यो– ‘तिमी को, कहाँबाट र किन लखनउ आएको ?’

    कसम ! २० वर्ष पहिला (१९८४ को अन्त्यसम्म ) लखनउमा कसैले मसँग यस किसिमले व्यवहार गरेको भए, मेरो बायाँ हात लाएको शर्टलाई दाहिनेपट्टिबाट अलि माथि सार्दै दायाँ हातले तल्लो पेट र गुप्तांगका बीचमा रहेको वस्तु झिक्दै आफ्नै बिन्दास शैलीले प्रतिउत्तर दिन्थ्यो । तर, मलाई स्मरण थियो मेरो शरीरमा शर्ट होइन, जोगीको बाना रहेको छ ।

    झण्डै दस मिनेटसम्म विभिन्न अनर्गल प्रश्न सोधी उसले फरमान सुनायो– यहाँ बढीमा तीन दिन मात्रै बस्न पाइन्छ । तीन दिनकै पैसा एडभान्समा दिनु पर्छ । राति ९ बजेपछि धर्मशालाभित्र पस्न पाइँदैन । उसका सबै शर्त र निर्देशन स्वीकार गरेपछि उसले कोठाको साँचो दिँदै यसरी (मुखले कोठाको मानचित्र वर्णन गर्दै, जा भन्ने आदेश दियो । कोठामा गई हतार–हतार ‘फ्रेश’ भएँ ।

    बुद्धपुरीजी महाराज बसेको स्थानतिर जानुभन्दा पहिला मलाई ‘मेल चेक’ गर्नुपर्ने थियो ।

    त्यसैसँग सोधे यहाँ नजिकमा ‘इन्टरनेट क्याफे’ कहाँ छ ?

    ‘धर्मशालकै छ, घण्टाको ६० रुपैयाँ लाग्छ र, आइडीको फोटोकपी दिनुपर्छ ।’

    ‘मैले भर्खरै आइडीको फोटोकपी दिएको छु ।’

    ‘त्यो ‘रूम’का लागि हो । इन्टरनेटका लागि अर्को फोटोकापी दिनुपर्छ ।’

    ‘२०–२५ मिनेट नेट प्रयोग गरेकोमा त्यसले घण्टाकै चार्ज लियो ।’

    दिनभरी बुद्धपुरीजी महाराजसँग रहेर साँझ ७ बजे मैले भने– महाराजजी अब म जान्छु, म बसेको धर्मशालामा ९ बजेभित्र नै पुग्नुपर्छ ।

    ‘अच्युत धर्मशाला किन जानुपर्‍यो ! यतै बसे हुन्छ ।’

    ‘महाराजजी एकपटक ब्याग लिन त जानुपर्छ ।’

    ‘हुन्छ गएर ब्याग लिएर आउ, तिमी नआउन्जेल म रात्रिको सत्संग सुरु गर्दिनँ ।’

    यत्तिकैमा छेउमा बसेका एउटा अधबैंसेले सोधे, तपाईं कुन धर्मशालामा बस्नु भएको छ ?

    ‘शीतल धर्मशाला ।’

    ‘कोठा नम्बर ?’

    ‘आठ ।’

    ‘तपाईंले ब्याग लिन जानु पर्दैन । तपाईंको ब्याग यही आइपुग्छ । म त्यस धर्मशाला ट्रस्टको अध्यक्ष हुँ ।’

    ‘चाबी त मसँग छ ।’

    के भो त ! धर्मशालाको कर्मचारीले ताला तोडेर ब्याग ल्याउछन् भन्दै उनले मलाई त्यस घरमा हुन गइरहेको मेरो बासस्थलतिर हिँड्न अनुरोध गरे । विशाल कोठामा मभन्दा पहिला एकजना बसेका थिए, म उनको ‘रुमपार्टनर’ हुन गइरहेको थिए । र, उनी थिए लखनउको ‘प्राइभेट न्युज एजेन्सी’ एक्सप्रेस न्युज एजेन्सीका मालिक कैलाश जैन । कैलाशसँग मेरो परिचय गराएर ती अधबैंसे ‘तपाईंको ब्याग यही आइपुग्छ’ भनी बिदा मागी प्रस्थान गरे ।

    आधा घण्टाको अन्तरालमै त्यही बिहानको सुकेनास मेरो ब्याग लिई आइपुग्यो । महाराजजी क्षमा गर्नुहोस् भन्दै उसले खुट्टा छोयो ।

    होइन, तपाईंले के बिगार गर्नुभयो, जे मैले क्षमा गरौं?

    ‘बिहान मैले तपाईंसँग धेरै अशोभनीय व्यवहार गरेँ, म लज्जित छु । मलाई क्षमा गर्नुस् ।

    हे हरि, हे हरिहर ! के हो तिम्रो लीला !! तिमी नै अपमान गर्न लगाउँछौ अनि फेरि तिमी नै …

    मस्तिष्कको क्षमता अपार, बिहान एकपटक उसले अपमानपूर्ण व्यवहार गरिरहँदा तल्लो पेट र गुप्तांग क्षेत्रमा रहेको वस्तुको पुनः सम्झना गरे । मानी लिऊँ मसँग बिहान त्यो वस्तु भएको भए त्यसको प्रदर्शन / प्रयोगले (आफ्नो अहम्ले ) त्यस मुर्खको अहम्लाई भूमिसात त गर्न सक्थेँ, तर के त्यो मेरो विजय हुन्थ्यो !?
    मैले उसले गरेको कृत्यप्रति कुनै प्रतिक्रिया नदेखाई ( वास्तवमा मेरो सामथ्र्य नै थिएन ) आफ्नो बाटो लिएँ र, १२ घण्टाभित्रै त्यही जाहिल मेरा चरण समाती बिन्ती गरिरहेको छ, अश्रुपूरित नयनले क्षमायाचना गरिरहेको छ ।

    मैले बिहान प्रतिकारमा कुनै प्रतिउत्तर दिएको भए शायद मेरो अहम्पूर्ति हुने थियो, शायद उ मेरो अहम्का सामु टिक्न सक्ने थिएन । तर, के बिहान मैले गरेको कुनै पनि किसिमको प्रतिकारजन्य कारवाहीले त्यस निरीह प्राणीमा कुनै परिवर्तन आउने थियो ?

    हे कृष्ण ! झण्डै ५– ६ महिने शरशैय्याको प्रवासमा रही उत्तरायणको प्रतीक्षामा रहेका भीष्म

    तामहलाई महाप्रयाणको अघिल्लो साँझ तिमीले भेट्न जाँदा आफ्नो युगको नायकले धर्मरक्षा हेतु गरेका आफ्ना सबै कृत्यलाई ‘जस्टिफिकेशन’ गर्दा ती वृद्धले भनेको सम्झिन्छु– ‘तिमी छलिया हौ कृष्ण ! जीवनभरि त मलाई ठग्यौ, मेरो महाप्रयाणको अन्तिम साँझमा पनि मलाई ठगीरहेका छौ ! हे दिनानाथ, म अज्ञानीलाई जन्म जन्मसम्म यसरी नै ठगी रहन सधै मेरा आँखासामु आइरहनू । अनन्त कालसम्म यसरी नै मसँग छल गर्ने लीला गरिरहनु । हे कृष्ण, हे छलिया यस भक्तको यो प्रार्थना स्वीकार गर । यो लेख्दै गर्दा दुवै नयन सजल भएर मानौं मेरो जन्म–जन्मको कलूषित पखालिँदै छ । हे कृष्ण, हे माधव, हे अच्युत ! आफ्नो यस अति क्षुद्र भक्तलाई समर्पण र आँसुको यो सौगातबाट कहिल्यै वञ्चित हुन नदिनू, बरु त्योभन्दा पहिला आफ्नो यमदूतलाई मेरो दिशामा जा भनी दिनू ।

    सात दिनसम्म कैलाशका साथ एउटा कोठामा रही बुद्धपुरीजी महाराजसँग सूर्यक्रिया योगको शिक्षादीक्षा लिए । यस योग अभ्यासले मलाई कैयन पटक ३ देखि ३०–४० दिनसम्म केही सेवन नगरी जीवन धान्न सक्ने अनुभव गरायो ।

    आठौं दिन कैलाश मलाई लिएर एक्सप्रेस न्युज एजेन्सीको कार्यालय फर्किए । उनको कोठा पनि कार्यालयमै थियो । उनले अर्को ८ दिनसम्म मलाई लखनउ छाड्न दिएनन् । र, तेस्रो दिन उनले मलाई आफ्नो कुनै आफन्तको घर जाने अनुरोध गरे– बडो धार्मिक ‘फेमिली’ छ, तपाईंलाई भेट्दा सबै खुशी हुन्छन् । उनी मलाई लिएर आफन्तको घर पुगे ।

    घरको वृद्धा र एकजना अधबैंसेलाई नमस्कार गरी उनले सोधे– ‘आमा! उहाँलाई चिन्न सक्नुहुन्छ ?’

    ‘कसरी चिन्नू बेटा ? मैले त सकिनँ । कोहो उहाँ ?’

    ‘भाइ साहेब तपाईं चिन्नू हुन्छ ?’

    ‘मैले पनि सकिनँ ।’

    ‘तपाईंहरुले उहाँलाई मभन्दा पहिला नै चिन्नुभएको थियो ।’

    ‘बेटा तपाईंलाई चिनेको नै १८–२० वर्ष हुन लाग्यौ । उहाँलाई त्यसभन्दा पहिला चिनेको भए बुढेसकालमा कसरी सम्झिनु ?’

    मलाई पनि कैलाशको यस कौतुकले हतप्रभ बनाएको थियो । मैले पनि दुबै जनालाई चिन्न सकिरहेको थिइनँ ।

    उहाँ सन् १९७८ देखि १९८४ सम्म यस घरमा धेरैपटक आउनुभएको थियो । तपाईंहरुले त्यस बेलाको १२–१४ वर्षीय बालकलाई साँझ ५ बजेपछि केही खान नदिएर भोकै सुताउनुभएको थियो ।

    होइन , के म बाबु बीरेन्द्र कुमार जैनको घरमा आइपुगेको हुँ । कैलाशसँग मैले बाबु बीरेन्द्रकुमार जैनको चर्चा त गरेको थिए तर कैलाशले आफू बीरेन्द्र बाबुको नातेदार भएको भनेका थिएनन् ।

    ‘अच्छा तो यह नेपाल वाले है ।’

    अधबैंसेले यति भन्नसाथ मेरो मुखबाट निस्कियो ‘शैलेन्द्र भाइसाहेब प्रणाम ।’

    ‘चलिए आप दोनों ने एक दूसरे को पहचान लिया,’ कैलाशले संतोषको सास फेर्दै मसँग भने, ‘महाराज जी यह मेरी ससुराल है ।’

    बाबु बीरेन्द्र जैनको निधन भइसकेको थियो, शैलेन्द्र जैनले सबै व्यापार सञ्चालन गरिरहेका थिए । लखनउ स्टेशनमा २० वर्षपछि ओर्लिदा सम्झेको विशाल हवेली एकपटक पुनः मेरो स्वागत गरिरहेको थियो ।

    साँझमा कैलाशको कार्यालयस्थित कोठामा फर्किदा कैलाशसँग कौतुक गर्न मन लाग्यो – कैलाश उत्तर प्रदेश शासनमा एकजना सचिव र्‍यांकका कर्मचारी हुनुहुन्छ, श्याम दीक्षित मलाई उनको बारेमा जान्नु छ ।

    कुन ठूलो कुरो हो, न्युज एजेन्सीका मालिकका लागि भनी उनले आफ्नो एकजना पत्रकारलाई श्याम दीक्षितका बारेमा खोज पडताल गर्न भने । २० मिनेटमै थाहा भयो अहिले श्याम दीक्षित उत्तर प्रदेशको महोबा जिल्लामा जिल्ला अधिकारी छन् । जानकारीका साथ महोबाको जिला अधिकारीको निवासको फोन नम्बर पनि पाइयो ।

    फोन लगाए रिसिभ भएपछि भने मलाई ममता दीक्षितसँग कुरा गर्नुछ ।

    जबाफ आयो अहिले मेम साहेब लखनउ जानुभएको छ । साहेब मात्रै हुनुहुन्छ ।

    साहेबलाई फोन देऊ ।

    हैल्लो को बोलेको जीजाजी मै अच्युतम कौन अच्युतम ?

    पुवायां वाला, आपकी ससुराल वाला । शाहजहाँपुरमें कृषि अधिकारी होते समय आपके साथ वेद प्रकाश शर्मा के उपन्यास और विज्ञान चर्चा करनेवाला अच्युतम ।

    ओहो अच्युतम तुम ! कहाँ से बोल रहे हो ?

    मै लखनउ में हुँ अभी–अभी आपका नम्बर मिला था सो फोन किया ।

    अच्छा कल जाकर ममता दिदी से मिलो । हम सब तुम्हारे परिवार को बहुत याद करते है । और लखनउसे कही और न जाकर सीधा महोबा आना । तुमसे मिलनेकी बड़ी इच्छा है ।

    भोलिपल्ट म लखनउको अफिसर कोलोनीमा ममता दिदीसँग २० वर्ष पुरानो कुराकानी गर्दै चियापान गरिरहेको थिएँ । लखनउमा मेरो हैसियत फेरि स्थापित हुँदै गइरहेको थियो । ममता दिदीको भोलीपल्ट नै महोबा जाने कार्यक्रम थियो ।

    ‘भैय्या तुम महोबा आये बगैर कहुँ मत जईओ । जीजा तुमहि बहुत याद करत रहत है ( म जन्मेको ठाउँको भाषिका, अर्थ–भाइ तँ महोबा न आई अन्त कतै नजानु, भिनाजुले तँलाई अति सम्झि राख्नुहुन्छ ) ।

    लखनउबाट महोबा जानुभन्दा पहिला मलाई एउटा अर्को कौतुक गर्ने मन थियो । कैलाशलाई भने– कैलाश लखनउमा पुवायांको राजपरिवारको कोठी छ । भारतको पहिलो अन्टार्टिका मिसनमा जाने विग कमान्डर अभय सिंह यसै रियासतका वारिस हुन् । यिनका दाजु उत्तरप्रदेशको पहिलो लेजेस्लेटिभ असेम्बलीका स्वतन्त्र सदस्य राजा सुरेन्द्र सिंहको लखनउमा भएको कोठी कहाँ छ पत्ता लगाई दिनुपर्‍यो ।

    यसमा एक दिनको समय लाग्न सक्छ । केही बात छैन कैलाश ३ दिन लागे पनि म पर्खिन्छु ।उनले आफ्नो रिपोर्टरलाई कोठीको लोकेसन पत्ता लगाउन भने । उनले रिपोर्टरलाई भनिरहँदा कम्प्युटर सिस्टममा बसेको अर्को सहकर्मीले सोध्यो– कतै तपाईंले राजा जय सिंहको कोठीको बारेमा त सोधी रहेको होइन ? म राजा जय सिंहको कोठी भएको एरियामै बस्छु ।

    तपाईं कुन एरियामा बस्नु हुन्छ ? मैले उत्सुकतापूर्वक सोधेँ ।

    जनसत्ता अखबारको प्रेस भएको ठाउँमा ।

    ‘गुड’ त्यही हो, मलाई बाल्यकालको सम्झना आयो । मेरो बाल्यकालमा पुवायां राजपरिवारको लखनउस्थित कोठीको चर्चा हुँदा कोठी भएको ठाउँ ठम्याउन जनसत्ता प्रेसको कुरा आउने गरेको सम्झना आयो । राजा जय सिंह यस राजघरानाका सबैभन्दा कान्छा छोरा थिए । भोलिपल्ट दिउँसो तीन बजेतिर म जान सत्ता प्रेस अगाडि रहेको कोठी पुगेँ । मूलद्वारको बेल बजाउँदा एउटा फुच्चे आयो ।
    म नन्हे राजा लाई भेट्न आएको मैले उसलाई आफ्नो उद्देश्य भने ।

    अहिले सबैजना विश्राममा हुनुहुन्छ । तपाईं कहाँबाट आएको ?

    म पुवायां बात आएको । आई म पनि ता पुवायांकै हो ।

    तिमी कसको छोरा हो ?

    मेरो बुआ पुवायां राजभवन कै माली नानककु हुनुहुन्थ्यो ।

    आई तिम्रो घर गढ़ी पछाडि को छावनी मोहल्लामा थियो होइन ?

    हो तपाईंलाई त मेरो घर नै थाहा रहेछ भन्दै उसले मलाई गेस्ट हाउसमा लगी राखी दियो । अब ३०–३५ मिनेटमा सबैजना उठ्नु हुन्छ होला, तबसम्म तपाईं यही बस्नुस । म उहाँहरु उठ्नेबित्तिकै खबर गरिदिन्छु ।

    उसले गएर नन्हे राजालाई के भनी मेरो परिचय दियो मलाई थाहा भएन । झण्डै आधी घण्टापछि उसैले आएर मलाई कोठीको बैठक कोठामा लग्यो ।

    बैठक कोठामा नन्हे राजा जय सिंह र बड़े राजा सुरेंद्र सिंह विराजमान हुनुहुन्थ्यो । मलाई हेर्न साथ नन्हे राजाले भन्नुभयो अरे भैय्या तुम हौ !

    बड़े राजाले मलाई चिन्नू भएन । उहाँले सोध्दा नन्हे राजाले नै भन्नुभयो नेपाली परिवारको नारायण शर्माको पनाति, मोहन शर्माको नाति, सत्यदेव शर्माको छोरो अच्युतम हो नि !

    ओहो नारायण बाजेको पनाति ! म धर्मकर्ममा लागेकै नारायण बाजेको प्रेरणाले, क्या दिव्य विभूति हुनुहुन्थ्यो नारायण बाजे ।

    यत्तिकैमा परिचारिकाले चियाको ‘ट्रे’ लिएर आइन् । ‘ट्रे’ लाई टेबलमा राखी केटलीबाट चिया कपमा हाल्ने उपक्रम के गर्न लागेकी थिइन, नन्हे राजाले भन्नुभयो तिमी जाऊ, चिया म आफैं हाल्छु ।

    कपमा चिया हाल्दै नन्हे राजाले सोध्नुभयो चिनी कति राखौं ?

    जुन राजदरबारको सेवा जसको तीन पुस्ताले अनवरत गर्दै आएको थियो, त्यही राजदरबारका वारिसले चौथो पुस्ताको युवकका लागि चिया बनाउदै सोध्दै थिएँ, ‘चिनी कति राखौं ?’

    बड़े कुवँर साहेब ( हामी केटाकेटी छँदा उहाँलाई यही सम्बोधन गर्दथ्यौें) ले भन्नुभयो– म नैमिषारण्यमा एउटा आश्रम बनाइरहेको छु, तपाईं संन्यासी हुनुभएको छ, त्यही आश्रममा आएर बस्नुस् ।

    कसलाई थियो यो सम्मान ! आफ्नो राजदरबारको पुस्ता दर पुस्ताको सेवामा समर्पित रहेको परिवारको चौथो पिँढीको युवकलाई त निश्चय पनि थिएन यो सम्मान ! सम्मान मेरो शरीरमा रहेको भगवा वस्त्रले पाइरहेको थियो । त्यही भगवा वस्त्र जुन स्वेच्छाले ६–७ महिनाअघि नासिकको महाकुम्भमा धारण गरेको थिएँ ।

    सन्यासी भएको जम्मा ६–७ महिना पुग्दै थियो । अखण्ड चित्रकुट संस्थाका स्वामी दिव्यानन्दजी महाराज मेरा हितैषी भइसक्नु भएको थियो । यस संस्थाका भारतभरि रहेका १०० भन्दा बढी आश्रम ( प्रायः सबै तीर्थ स्थलमा रहेका आश्रम) मेरो शरणस्थली बनिसकेका थिए । दिल्ली–लखनउ– बरेली–सीतापुरका साथै पञ्जाब, हरियाणा, चण्डीगढ, मध्यप्रदेश, बिहार राज्यमा गइ खाने बस्नेका साथै दक्षिणा भेटिने (यातायातका लागि ) सम्बन्ध विकसित भइसकेका थिए । सन् २००४ को उज्जैन महाकुम्भमा पाइलट बाबासँग भएको भेटपश्चात् र सन् २००६ सम्म आउँदा झन्डै भारतभरि नै निर्बाध यात्रा गर्ने र पुगेको ठाउँमा सम्मानपूर्ण आदर सत्कार पाई यातायात खर्चका रूपमा दक्षिणा भेटिनेसम्मका सबै संयोग घटित भइसकेका थिए । नासिक कुम्भमा स्वेच्छाले जोगी बनेको नेपाली पत्रकार दिव्यानन्दजी, पाइलट बाबा, स्वामी बुधपुरीजी महाराजलगायत अनेकौं संन्यासी मित्रको संगतले सन् २००६ मै खाँटी जोगी भइसकेको थियो ।

    २ चैत्र २०७७, सोमबार १८:५४मा प्रकाशित